नियम २४
विवरणहरू पेश गर्नु पर्ने

(१) धितोपत्र सूचीकरण गराएका संगठित संस्थाले आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र गत आर्थिक वर्षको आय व्यय विवरण, नाफा नोक्सानको वासलात तथा वार्षिक प्रगति प्रतिवेदनको अतिरिक्त देहाय बमोजिमको आर्थिक विवरण बोर्ड तथा सम्बन्धित धितोपत्र बजारमा पेश गर्नु पर्नेछ ः–
(क) गत आर्थिक वर्षको नगद प्रवाह सम्बन्धी विवरण,
(ख) संगठित संस्थाको उत्पादन क्षमता वा कारोवार क्षमता सम्बन्धी विवरण,
(ग) खरीद, बिक्री तथा अन्तिम मौज्दातको विवरण,
(घ) आयात तथा निर्यात भएका मुख्य मुख्य सामानहरूको विवरण,
(ङ) विदेशी मुद्रामा कारोवार भएको भए त्यसको आय व्यय सम्बन्धी विवरण,
(च) आफूले गरेको कारोवार, त्यस सम्बन्धमा व्यवस्थापनको धारणा, संगठित संस्थाको उत्पादन वा कारोबार क्षमतामा पच्चीस प्रतिशतभन्दा बढी फरक परेको भए त्यस सम्बन्धमा व्यवस्थापनको प्रतिक्रिया,
(छ) बोर्ड वा सम्बन्धित धितोपत्र बजारले तोकिदिएको अन्य विवरण ।
(२) उपनियम (१) बमोजिमको विवरणको अतिरिक्त संगठित संस्थाले साधारण सभा समाप्त भएको ३६सात दिन भित्र सो साधारण सभामा पेश भएका प्रस्ताव, छलफल भएका विषय तथा लिइएका निर्णय सम्बन्धी पूर्ण विवरण ३७बोर्ड र सम्बन्धित धितोपत्र बजारमा पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पेश गरिने विवरणको अतिरिक्त प्रत्येक वर्ष अर्ध वार्षिक अवधि समाप्त भएको एक महीना भित्र सो अवधि भित्रको काम कारवाही सहितको अर्ध वार्षिक प्रगति प्रतिवेदन समेत पेश गर्नु पर्नेछ ।
(४) कुनै सञ्चालकले लिएको शेयरको स्वामित्व परिवर्तन भएमा वा कुनै सञ्चालकले लिएको शेयर संख्यामा थपघट भएमा त्यसको सूचना सात दिन भित्र बोर्ड र धितोपत्र बजारलाई दिनु पर्नेछ ।
(५) कुनै संगठित संस्थाले आफूले सूचिकरण गराएको धितोपत्रको मूल्य वा कारोबारमा कुनै किसिमको असर पर्ने गरी संगठित संस्थाको हक वा दायित्वमा असर पर्ने गरी सम्पत्तिमा थपघट भएमा वा व्यवस्थापन सम्बन्धी कुनै सम्झौता वा करार गरेमा त्यसको जानकारी बोर्ड र धितोपत्र बजारलाई दिनु पर्नेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र बजारले आफू कहाँ सूचीकृत भएका धितोपत्रका सम्बन्धमा सम्बन्धित संगठित संस्थासंग जहिलेसुकै पनि आवश्यक विवरण, तथ्याङ्क वा सूचना माग गर्न सक्नेछ र त्यस्तो विवरण, तथ्याङ्क वा सूचना बोर्ड र धितोपत्र बजारलाई उपलब्ध गराउनु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।